एकाइ ३: जीवनोपयोगी सिप

unit 3 class 12 Social Studies NEB Resource App


पाठ १: जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभूमि, वर्गीकरण र अभ्यास

१. तलका प्रश्नको उत्तर दिनुहोस्:

(क) जीवनोपयोगी सिप विद्यालय शिक्षा औपचारिक रूपमा कहिलेदेखि सुरु भएको हो?

उत्तर: जीवनोपयोगी शिक्षाको अवधकारणा सन् १९६५ तिर नै विकास भएको हो। सन् १९८६ मा Ottawa Charter for Health Promotion ले यसलाई असल स्वास्थ्य छनोट गर्नका लागि आवश्यक मानी स्वीकार गरेको थियो। सन् १९८३ मा बाल अधिकार महासन्धिले जीवनोपयोगी शिक्षा बालबालिकाको चौतर्फी विकास गर्नका लागि निर्देशित हुनुपर्ने उल्लेख गरेको थियो। यसको औपचारिक सुरुवात भने सन् १९९० मा थाइल्याण्डको जोमटेन सहरमा शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो। त्यस सम्मेलनले सबैका लागि शिक्षा घोषणा गर्यो। उक्त घोषणामा बाँच्न, क्षमता विकास गर्न र गुणस्तरीय जीवनका लागि जीवनोपयोगी सिपलाई पनि समावेश गरियो। त्यसपछि सन् १९९८ को अप्रिल ६-२७ मा विश्व स्वास्थ्य सङ्गठनको कार्यालय जेनेभामा जीवनोपयोगी सिप शिक्षासँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीय निकायहरूको बैठक बसी जीवनोपयोगी सिपहरूको कार्य ढाँचा तयार गरे र २००० मा सेनेगलको राजधानी डकारमा भएको ‘सबैका लागि शिक्षा’ को सम्मेलनले जीवनोपयोगी सिपलाई व्यवस्थित रूपमा समावेश गर्यो।

(ख) समस्या समाधान सिप जीवनोपयोगी सिपको कुन समूहमा पर्छ?

उत्तर: समस्या समाधान सिप जीवनोपयोगी सिपको सोचाइ सिप समूहमा पर्छ। सोचाइ सिपले व्यक्तिलाई आफ्नो दिमागलाई ठिक तरिकाले परिचालन गर्न सघाउँछ।

(ग) विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवनोपयोगी सिपहरूलाई कति समूहमा वर्गीकरण गरिएको छ? छोटकरीमा उल्लेख गरी कुनै एक समूहमा पर्ने सिपहरूको सूची बनाउनुहोस्।

उत्तर: विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवनोपयोगी सिपहरूलाई तीन समूहमा वर्गीकरण गरिएको छ: आत्मबोध सिप, अन्तरवैयक्तिक सिप र सोचाइ सिप। आत्मबोध सिपहरूमा व्यक्तिले आफ्नो जीवनलाई व्यवस्थित बनाउन चाहिने सिपहरू पर्छन्।
आत्मबोध सिपहरूको सूची:

  • तनाव व्यवस्थापन
  • संवेगात्मक नियमन
  • सकारात्मक सोच
  • आत्मसम्मान

(घ) जीवनोपयोगी सिप सिक्नाले हुने फाइदालाई पाँच बुँदामा उल्लेख गर्नुहोस्।

उत्तर: जीवनोपयोगी सिप सिक्नाले हुने फाइदाहरू:

  • जीवनोपयोगी सिपले व्यक्तिको आफ्नो जीवनलाई व्यवस्थित बनाउन सहयोग गर्छ।
  • समाजमा सफा र सहज जीवन जिउन सक्षम बनाउँछ।
  • व्यक्तिलाई आफ्नो दिमागलाई ठिक तरिकाले परिचालन गर्न सघाउँछ।
  • लक्ष्य निर्धारण, निर्णय निर्माण, समस्या समाधान गर्न सक्षम बनाउँछ।
  • समालोचनात्मक तथा सिर्जनात्मक सोच, कार्यसम्पादन, उत्थानशीलतामा सक्षम बनाउँछ।

पाठ २: समालोचनात्मक चिन्तन

१. तलका प्रश्नको उत्तर दिनुहोस्:

(क) समालोचनात्मक चिन्तन भनेको के हो?

उत्तर: समालोचना शब्द "सम" र "अलोचना" दुई शब्दहरू मिलेर बनेको छ। कुनै विषयवस्तु वा कुराको राम्रा तथा नराम्रा पक्षहरूको निष्पक्षताका साथ मूल्याङ्कन गर्ने कार्य समालोचनात्मक चिन्तन हो। विभिन्न विचारहरूबीचको तार्किक सम्बन्ध बुझेर स्पष्ट र तर्कसङ्गत सोच्न सक्ने क्षमता नै समालोचनात्मक चिन्तन हो।

(ख) समालोचनात्मक चिन्तनअन्तर्गतका सिपहरूमध्ये तपाइँलाई कुन सबैभन्दा महत्त्वपूर्ण लाग्छ? एक कारण दिनुहोस्।

उत्तर: समालोचनात्मक चिन्तनअन्तर्गतका सिपहरूमध्ये मलाई विश्लेषण सिप सबैभन्दा महत्त्वपूर्ण लाग्छ, किनभने कुनै घटना, समस्या वा मुद्दासँग सम्बन्धित सूचना र तथ्याङ्क सङ्कलन गर्ने, तिनीहरूलाई प्रशोधन गर्ने र त्यसको प्रभाव वा नतिजाबारे विचार गर्ने सिप नै विश्लेषण सिप हो। उदाहरणका लागि, १० कक्षापछि कुन विषय पढ्ने भन्ने समस्या छ भने कुन विषय पढ्दा के राम्रो हुन्छ, त्यसका लागि स्रोतसाधन के-के चाहिन्छ भन्ने बारेमा सूचना तथा तथ्याङ्क सङ्कलन गरेर तिनीहरूको प्रभाव अनुमान गर्न सकिन्छ।

(ग) आत्मआलोचनालाई परिभाषित गर्नुहोस्।

उत्तर: आत्मआलोचना भन्नाले आफ्ना सबल पक्ष र कमजोर पक्ष पहिचान गर्न, भविष्यमा कमजोरी सच्याएर आफूलाई सबल र सफल बनाउन सहयोग गर्ने कार्य हो। यसले व्यक्तिलाई आफ्नो कमजोरी महसुस गरी स्वीकार गर्न र सुधार गर्न प्रेरित गर्छ।

(घ) आत्मआलोचना र स्वरूपान्तरणबीच के सम्बन्ध छ? छोटकरीमा लेख्नुहोस्।

उत्तर: आत्मआलोचनाले आफ्ना कमजोर पक्षहरूलाई पहिचान गरी सुधार गर्ने कार्यलाई जनाउँछ, भने स्वरूपान्तरणले ती कमजोरी हटाएर आफूलाई परिवर्तन गर्ने प्रक्रियालाई बुझाउँछ। आत्मआलोचनाले स्वरूपान्तरणको आधार तयार गर्छ।

(ङ) समालोचनात्मक चिन्तनको महत्त्वलाई पाँच बुँदामा लेख्नुहोस्।

उत्तर: समालोचनात्मक चिन्तनको महत्त्व:

  • कुनै मुद्दा वा समस्याको वास्तविक निष्कर्षमा पुग्न।
  • परिस्थितिअनुकूल विभिन्न सिद्धान्त, परिभाषा, कानुन आदि निश्चित गर्न।
  • व्यक्तिगत पक्षधरता, पूर्वाग्रह आदि निष्कर्षमा प्रभाव पार्ने तत्वहरूलाई हटाउन।
  • सान्दर्भिक तथ्य, प्रमाण र अनुभवहरूलाई समेट्न र असान्दर्भिक कुराहरू हटाउन।
  • कुन कुरा सर्वस्वीकार्य छ र कुन कुराका लागि प्रमाण आवश्यक छ भन्ने बोध गर्न।

(च) समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरूको सूची बनाउनुहोस्।

उत्तर: समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरू:

  • विश्लेषण सिप: सूचना र तथ्याङ्क सङ्कलन गरी प्रशोधन गर्ने र प्रभाव विचार गर्ने।
  • अर्थ निर्माण सिप: सङ्कलित सूचनाबाट अर्थ निकाल्ने।
  • निष्कर्ष अनुमान सिप: उपलब्ध ज्ञानको विश्वसनीयता मूल्याङ्कन गरी नतिजा अनुमान गर्ने।
  • व्याख्या सिप: तर्क र सिपलाई स्पष्टसँग अरूलाई बुझाउने।
  • आत्मनियमन सिप: आफ्नो सोच्ने तरिकाको निरन्तर अनुगमन र नियमन गर्ने।
  • खुला सोचाइ सिप: अरूको विचार र भावनाप्रति ध्यान दिने।
  • समस्या समाधान सिप: समस्याहरूलाई बुद्धिमतापूर्ण ढङ्गले समाधान गर्ने।

(छ) आत्मआलोचनाले व्यक्तिलाई कमजोर हैन सबल बनाउँछ? यस भनाइलाई पुष्टि गर्नुहोस्।

उत्तर: आत्मआलोचनाले व्यक्तिलाई कमजोर हैन, सबल बनाउँछ किनभने यसले आफ्ना सबल र कमजोर पक्ष पहिचान गर्न, कमजोरी सुधार्न र आत्मसचेतना विकास गर्न सहयोग गर्छ। यसले समस्याको जरा पत्ता लगाई समाधान गर्न सक्षम बनाउँछ।

पाठ ३: सिर्जनात्मक चिन्तन

१. तलका प्रश्नको अति छोटो उत्तर दिनुहोस्:

(क) सिर्जनात्मक चिन्तन भनेको के हो?

उत्तर: नयाँ विकल्पहरू सोच्न र तिनलाई वास्तविकतामा बदल्नु नै सिर्जनात्मक चिन्तन हो।

(ख) सिर्जनात्मक चिन्तन गर्ने व्यक्तिसँग हुने कुनै दुई विशेषताहरू लेख्नुहोस्।

उत्तर:

  • जिज्ञासु र खुलापनलाई बढावा दिन्छ।
  • सिकाइ र सिर्जनाप्रति अभिरुचि जगाई खुसी र आनन्दित बनाउँछ।

(ग) सिर्जनात्मक चिन्तनको तयारी चरणमा के गरिन्छ?

उत्तर: आवश्यक सामग्री व्यवस्था गरी अनुसन्धान, मस्तिष्क मन्थन आदि गरेर योजना तयार गरिन्छ।

(घ) सिर्जनात्मक चिन्तनको अभ्यास गर्दा हुने एक फाइदा लेख्नुहोस्।

उत्तर: मानसिक लचकतामा वृद्धि गर्छ र विभिन्न विकल्पहरूमा विचार गर्न प्रेरित गर्छ।

(ङ) सिर्जनात्मक चिन्तनका कुनै पाँच विशेषताहरूको सूची बनाउनुहोस्।

उत्तर:

  • जिज्ञासु र खुलापनलाई बढावा दिन्छ।
  • सिकाइ र सिर्जनाप्रति अभिरुचि जगाई खुसी र आनन्दित बनाउँछ।
  • सोचाइ र चिन्तनमा विविधता ल्याउँछ।
  • जोखिम बहन गर्ने क्षमता वृद्धि गर्छ।
  • काममा नवप्रवर्तन हटाउन मदत गर्छ।

(च) सिर्जनात्मक चिन्तन प्रक्रियाका पाँच चरणको छोटो परिचय दिनुहोस्।

उत्तर:

  • तयारी चरण: आवश्यक सामग्री व्यवस्था गरेर अनुसन्धान र योजना तयार गरिन्छ।
  • विकास चरण: योजना परिपक्क हुन समय दिइन्छ।
  • पूर्दाप्ति चरण: नयाँ विचार वा समाधानको अन्तर्दृष्टि आउँछ।
  • मूल्याङ्कन चरण: नवीन विचारको परीक्षण वा अनुसन्धान गरिन्छ।
  • प्रमाणीकरण चरण: अन्तिम रूप दिइन्छ र प्रस्तुत गरिन्छ।

पाठ ४: समानुभूति

१. तलका प्रश्नको उत्तर दिनुहोस्:

(क) समानुभूतिको अर्थ के हो?

उत्तर: समानुभूति भन्नाले अरूले भोगिरहेका संवेगात्मक अनुभवलाई पहिचान गर्ने, बुझ्ने र आफूले पनि त्यस्तै अनुभूति गर्ने क्षमता हो।

(ख) समानुभूति सिपको कुनै दुई फाइदा लेख्नुहोस्।

उत्तर:

  • मिलनसार बनाउँछ र समाजमा सबैको प्रिय बनाउँछ।
  • कार्यस्थलमा सकारात्मक प्रभाव पार्छ र कार्य प्रभावकारी बनाउँछ।

(ग) संज्ञानात्मक समानुभूतिका कुनै दुई उदाहरण दिनुहोस्।

उत्तर:

  • कसैको अनुहार हेरेर ऊ दुखी वा खुसी छ भनी थाहा पाउनु।
  • कसैको हाँसो देखेर ऊ रमाएको छ भनी बुझ्नु।

(घ) समानुभूतिका कुनै दुई तत्व उल्लेख गर्नुहोस्।

उत्तर:

  • अरूलाई बुझ्नु: अरूको कुरा र गैरशाब्दिक सञ्चारमा ध्यान दिने।
  • अरूलाई विकसित पार्नु: अरूको सम्भाव्यता विकास गर्न सहयोग गर्ने।

(ङ) समानुभूतिका तत्वको सूची बनाई कुनै दुईको परिचय दिनुहोस्।

उत्तर: समानुभूतिका तत्वहरू:

  • अरूलाई बुझ्नु
  • सेवाभाव राख्नु
  • अरूलाई विकसित पार्नु
  • राजनीतिक सचेतना
  • विविधताको उपयोग गर्नु

अरूलाई बुझ्नु: अरूको कुरा र गैरशाब्दिक सञ्चारमा ध्यान दिएर उनीहरूको दृष्टिकोण बुझ्ने र सहयोग गर्ने।
अरूलाई विकसित पार्नु: अरूको सम्भाव्यता विकास गर्न सहयोग, प्रशंसा र रचनात्मक सुझाव दिने।

(च) संवेगात्मक समानुभूति र दयालु समानुभूतिको उदाहरणसहित परिचय दिनुहोस्।

उत्तर:

  • संवेगात्मक समानुभूति: अरूको संवेग अनुभव गर्नु, जस्तै सिनेमामा पात्रको दुखमा रुनु।
  • दयालु समानुभूति: अरूको संवेग अनुभव गरी सहयोग गर्नु, जस्तै विपत्तिमा सहायता प्रदान गर्नु।

(छ) समानुभूति सिप विकास गर्न अवलम्बन गर्न सकिने कुनै पाँच उपाय उल्लेख गर्नुहोस्।

उत्तर:

  • अन्य व्यक्तिहरूको विचार, चासो, संस्कृति आदि बारे जानकारी राख्ने।
  • नयाँ मानिसहरूसँग अन्तरक्रिया र नयाँ स्थानहरूको भ्रमण गर्ने।
  • आफ्ना बानीव्यवहारबारे फीडब्याक लिने र परिवर्तन गर्ने।
  • कुराकानीमा अरूलाई सम्मान र विचारलाई समानुपातिक राख्ने।
  • सामाजिक संस्था वा परियोजनामा सरिक हुने।

पाठ ५: आत्मबोध

१. तलका प्रश्नको अति छोटो उत्तर दिनुहोस्:

(क) आत्मबोध भनेको के हो?

उत्तर: आत्मबोध भन्नाले आफ्ना विचार, भावना र कार्यहरूको मूल्याङ्कन गरी मूल्यमान्यतासँग मिलाउने प्रक्रिया हो।

(ख) आत्मबोधको महत्व दुई बुँदामा लेख्नुहोस्।

उत्तर:

  • आफ्नो कार्यक्षमता र सुधारका क्षेत्र पहिचान गर्न।
  • आफ्ना संवेग नियन्त्रण गरी खुसी जीवन जिउन।

(ग) आत्ममूल्याङ्कन भन्नाले के बुझिन्छ, लेख्नुहोस्।

उत्तर: आत्ममूल्याङ्कन भन्नाले व्यक्तिगत कार्य र परिणामलाई विश्लेषण गरी मूल्य दिने प्रक्रिया हो, जसले कमजोरी सुधार्न सहयोग गर्छ।

(घ) आत्मबोधका तरिकाहरूबारे छोटकरीमा लेख्नुहोस्।

उत्तर:

  • ध्यान र योगाभ्यास गर्ने।
  • डायरी लेख्ने र समीक्षा गर्ने।
  • मनोमापन परीक्षण गर्ने।
  • विश्वासिलो साथीहरूबाट पृष्ठपोषण लिने।

(ङ) आत्ममूल्याङ्कनको महत्व कुनै पाँच बुँदामा लेख्नुहोस्।

उत्तर:

  • आफूलाई मूल्याङ्कन गर्ने अनुभूति गराउन।
  • उच्च मनोबलका साथ कार्य गराउन।
  • कार्यदक्षतामा सुधार गर्ने।
  • सहकर्मीहरूबाट सिक्ने बानी विकास गर्न।
  • सामूहिक कार्यप्रति उत्प्रेरणा जगाउन।

(च) आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा कसरी सहयोग पुयाउँछ?

उत्तर:

  • उच्च मनोबलका साथ कार्य गर्न सहयोग गर्छ।
  • सहकर्मीहरूबाट सिक्ने बानी विकास गर्छ।
  • नयाँ विधि र प्रविधिको खोजी गर्न प्रेरित गर्छ।
  • कमीकमजोरी पत्ता लगाउन सहयोग गर्छ।

पाठ ६: संवेग व्यवस्थापन

१. तलका प्रश्नको उत्तर दिनुहोस्:

(क) संवेग भन्नाले के बुझिन्छ?

उत्तर: कुनै वस्तु वा परिस्थितिप्रतिको चेतनायुक्त मानसिक प्रतिक्रिया नै संवेग हो, जसले व्यवहार र शारीरिक अवस्थामा परिवर्तन ल्याउँछ।

(ख) संवेग व्यवस्थापन भनेको के हो?

उत्तर: सकारात्मक र नकारात्मक संवेगप्रति सचेत रही तिनलाई रचनात्मक तरिकाले परिचालन गर्ने क्षमता नै संवेग व्यवस्थापन हो।

(ग) किशोरावस्थामा किन सहपाठी समूह महत्वपूर्ण हुन्छ?

उत्तर: सहपाठी समूहले नकारात्मक सोचलाई चुनौती दिन र सकारात्मक सोचको विकास गर्न सहयोग गर्छ।

(घ) योगाभ्यासमा के के पर्छन्?

उत्तर: योगाभ्यासमा प्राणायाम (अनुलोमविलोम, भस्त्रिका, कपालभाति), आसन (भुजङ्गासन, मर्कटासन, धनुरासन, बज्रासन) र ध्यान पर्छन्।

(ङ) संवेग व्यवस्थापन गर्ने कुनै पाँचओटा उपाय लेख्नुहोस्।

उत्तर:

  • संवेगसँग सम्बन्धित कार्यहरूको ठिक वा बेठिक पत्ता लगाउने।
  • नियमित क्रोध नियन्त्रण गर्ने।
  • नियमित शारीरिक अभ्यास गर्ने।
  • मन मिल्ने व्यक्तिसँग कुराकानी र समूहमा रमाउने।
  • वरपरका घटनाहरूलाई स्वाभाविक मानेर स्वीकार गर्ने।

(च) किशोरावस्थामा संवेग नियन्त्रणका लागि योगाभ्यास शीर्षकमा एक सम्पादकीय लेख्नुहोस्।

सम्पादकीय
जेनिसा भट्टराई

योग तथा ध्यानले किशोरावस्थाको संवेग नियन्त्रणमा सहयोग पुर्‍याउँछ। ध्यान र योगाभ्यासले ध्यान केन्द्रित गर्ने क्षमता, शारीरिक र मानसिक सचेतना बढाउँछ। रिस, चिन्ता जस्ता नकारात्मक संवेगलाई कम गरी सकारात्मक स्वभावको विकास गर्न मद्दत गर्छ। किशोरावस्थामा संवेग नियन्त्रणका लागि योगाभ्यास अत्यन्त महत्वपूर्ण छ।